बिहारमा हालै सम्पन्न विधानसभा (प्रदेशसभा) निर्वाचनको परिणाम नेपाल र भारत दुवै मुलुकको राजनीतिक वृत्तमा चर्चाको विषय बन्यो।यसरी चर्चा हुनुका केही खास कारण छन्।
पहिलो, विगत बीस वर्षयता बिहारमा लगभग लगातार मुख्यमन्त्री रहेका नितिश कुमारले फेरि एक पटक त्यही पदमा शपथ लिएका छन्। लगभग यस कारण कि, सन् २०१४–१५ मा नितिश कुमारकै पार्टी जनता दल युनाइटेड (जेडियू) जीतनराम माझीले नौ महिना मुख्यमन्त्री पद सम्हालेका थिए।
यसपालि सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) समेत सम्मिलित राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडिए) ले दुई–तिहाइभन्दा बढी सिटमा जित हासिल गरेपछि नितिश कुमार दसौं पटक मुख्यमन्त्री बनेका हुन्।
नितिश कुमारको नेतृत्वमा निर्वाचन लडेको एनडिएले बिहारमा २४३ मध्ये २०२ सिट जितेको छ। र, यही संख्या अहिले सबभन्दा बढी चर्चाको विषय बनेको हो।
सामान्यतया मतदाताहरू पाँचदेखि दस वर्षमा सरकार परिवर्तनको पक्षमा देखिन्छन्। तर नितिश कुमार बीस वर्षदेखि एकछत्र हुँदा पनि किन उनी, उनको पार्टी र उनी नेतृत्वको गठबन्धनलाई यति ठूलो बहुमत मिल्छ होला?
दोस्रो कारण, बिहारको राजनीतिमा निकै चर्चित नाम हो लालुप्रसाद यादव।राष्ट्रिय जनता दल (आरजेडी) उनैले स्थापना गरेका हुन्। सन् १९९० देखि २००५ सम्म बिहारमा लालु र उनकी श्रीमती रावडीदेवीले पालैपालो करिब १५ वर्ष शासन गरेका थिए। अहिले उनीहरूका छोरा तेजस्वी आरजेडीका राष्ट्रिय अध्यक्ष छन्। उनी दुई पटक उपमुख्यमन्त्री भइसकेका हुन्।
यसपालि ३६ वर्षीय तेजस्वी विपक्षी मोर्चा (महागठबन्धन) को तर्फबाट मुख्यमन्त्रीका उम्मेदवार थिए।