इन्द्र सुशील चोङ्बाङ र निरन्ता नेम्बाङको स्वरमा सजिएको पुर्वेली गीत ‘पुरानो माया’ सार्वजनिक

सुनिल निर्दोशी पारघरी

पुर्वेली लोक संगीत प्रेमीहरूका लागि नयाँ कोसेलीका रूपमा गायक तथा संगीतकार इन्द्र सुशील चोङ्बाङ र गायिका निरन्ता नेम्बाङको स्वरमा सजिएको नयाँ गीत ‘पुरानो माया’ सार्वजनिक गरिएको छ। पुर्वेली लोक भाकामा आधारित उक्त गीतको भिडियो हालै सिमिक्लुङ दर्पण युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतले पुरानो प्रेम, सम्झना र भावनात्मक सम्बन्धलाई पुर्वेली मौलिक शैलीमा प्रस्तुत गरेको छ। शब्द र संगीतको संयोजनले गीतलाई थप सशक्त बनाएको छ भने गायनमार्फत श्रोताको मन छुने प्रयास गरिएको छ। गीतका शब्द शान्त कुबिर आङखेवाले संकलन गरेका हुन् भने लय संकलन गायक इन्द्र सुशील चोङ्बाङ स्वयंले गरेका छन्। पुर्वेली लोक संस्कृतिको सुगन्ध बोकेको गीतले स्थानीय भाका, भाषा र जीवनशैलीलाई संगीतमार्फत उजागर गरेको कलाकारहरूको भनाइ छ।

गीतको भिडियो पनि आकर्षक ढंगले निर्माण गरिएको छ। भिडियोको निर्देशन इन्द्र सुशील चोङ्बाङले गरेका छन् भने पोस्ट–प्रोडक्सनको काम जुम लेन्स प्रडक्शनले गरेको हो। भिडियोमा कृष्ण थलङको छायांकन तथा सम्पादन रहेको छ।

विशेष कुरा, भिडियोमा गीतका गायक तथा गायिका इन्द्र सुशील चोङ्बाङ र निरन्ता नेम्बाङ स्वयंले अभिनय गरेका छन्। उनीहरूको अभिनयले गीतको भाव र कथालाई जीवन्त बनाएको दर्शकहरूको प्रतिक्रिया रहेको छ।

गीतको संगीत संयोजन नारायण दंगालले गरेका हुन्। रेकर्डिङ शंकरा स्टुडियोमा सागर पुनले गरेका छन् भने गीतको मिक्सिङ राजु कार्कीले गरेका छन्। प्राविधिक पक्षको उत्कृष्ट संयोजनले गीतलाई थप आकर्षक र श्रवणयोग्य बनाएको छ।

पुर्वेली लोक संगीतको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याउने उद्देश्यसहित सार्वजनिक गरिएको ‘पुरानो माया’ले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउन थालेको छ। मौलिकता, शब्द, संगीत र दृश्य प्रस्तुतिको समिश्रणले गीतलाई विशेष बनाएको संगीतप्रेमीहरूको भनाइ छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.