छथरमा आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, १८० जनाले लिए सेवा

राजकुमार तेयुङ

तेह्रथुमको छथरगाउँपालिका वडा नं ४ मा रहेको नवीन शिक्षा सदनमा शनिबार निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तेह्रथुमको आयोजना तथा छथर गाउँपालिकाको समन्वयमा “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने नारासहित शिविर सञ्चालन गरिएको हो। स्थानीय नागरिकलाई लक्षित गरी आयोजना गरिएको शिविरमा स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गरिएको थियो। शिविरका सहभागीहरूको स्वास्थ्य परीक्षणका क्रममा जोर्नी दुख्ने, मधुमेह (सुगर), उच्च रक्तचाप (प्रेसर), कोलेस्ट्रोल, टाउको दुख्ने तथा कलेजोसम्बन्धी विभिन्न समस्या देखिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तेह्रथुमकी आयुर्वेद चिकित्सक डा. अनामिका सापकोटाले बताउनुभयाे दिनुभयो। उहाँका अनुसार शिविरमा आएका बिरामीहरूलाई निःशुल्क स्वास्थ्य जाँच, पूर्वकर्म सेवा, ल्याबसम्बन्धी सेवा तथा आवश्यक औषधि वितरण गरिएको थियो।

शिविरबाट स्थानीय नागरिकले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गरेका थिए। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तेह्रथुमका निमिक्त प्रमुख अनिल कुमार मण्डलकाले शिविरमा १ सय ५ जना महिला र ७५ जना पुरुष गरी जम्मा १ सय ८० जनाले सेवा लिएको बताउनुभयो । ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै रोगको समयमै पहिचान र उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले शिविर सञ्चालन गरिएको मण्डलले थप्नुभयो।

शिविरमा स्वास्थ्य परीक्षणसँगै स्वस्थ जीवनशैली, नियमित व्यायाम, सन्तुलित आहार तथा रोग लाग्न नदिन अपनाउनुपर्ने सावधानीबारे पनि परामर्श प्रदान गरिएको थियो। नागरिकलाई स्वस्थ, सक्रिय तथा रोगमुक्त जीवनशैलीतर्फ अभिप्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तेह्रथुमकी आयुर्वेद चिकित्सक डा. अनामिका सापकोटाको अध्यक्षता तथा छथर गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि स्थानीय, बुद्धिजीवी तथा सर्वसाधारण नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।स्थानीयवासीहरूले गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न पाउँदा खुसी व्यक्त गर्दै यस्ता स्वास्थ्य शिविर आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्न सम्बन्धित निकायसँग आग्रह समेत गरेका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.