जोरधारा सिचाई पोखरीको उद्वघाटन

तेह्रथुमको  फेदाप गाउपालिका वडा नं. ५, साविक इसिबु -३ याक्थुङ पाङभेमा निर्माण सम्पन्न भएको जोरधारा सिचाइ पोखरीको शुक्रवार उद्घाटन गरिएको छ । फेदाप गाउपालिकाको कार्यपालिका सदस्य पदम कुमारी पंधाक चोङबाङले किसानहरुको खुसीसंगै पोखरीको पानी गेट भल्भ मार्फत प्रवाह गरेर उद्घाटन गर्नुभएको हो ।

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, तेह्रथुमको आर्थिक सहयोगमा जोरधारा सिचाइ पोखरी तथा जलस्रोत उपभोक्ता संस्थाको साझेदारी सहित पोखरी निर्माण कार्य सम्पन्न भएको थियो । करिब एक लाख बीस हजार लिटर पानी अट्ने पोखरी जनश्रमदान सहित नौ लाख बीस हजार लागतमा निर्माण सम्पन्न भएको छ।

पोखरी निर्माण संगै करिब ८० घरधुरी किसानहरुलाई सिचाइ सुबिधा उपलब्ध हुने स्थानीय भिमराज हुक्पा चोङबाङले बताउनुभयो । सुक्खा याममा सिचाइ साथै धानको बियाड राख्न धेरै सहज हुने अपेक्षा समेत किसानहरूले  बताएका छन । उद्घाटन कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि पदम कुमारी चोङबाङ्ले पोखरी निर्माण आफुले सोचेको भन्दा राम्रो काम भएको बताउनुभयो । उहाँले थप्दै यो कामले अधिकांश किसानहरुको समस्या धेरै हद सम्म समाधान हुने साथै किसानहरु र उपभोक्ता समितिको समन्वयमा पोखरी संचालन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा समाजसेवी तिल बिक्रम हुक्पा चोङबाङ, लक्षमण हुक्पा चोङबाङ र नरपती हुक्पा चोङबाङले समेत आफ्नो धारणा राख्नुभएको थियो । उद्घाटन कार्यक्रम सेसेहाङ हुक्पा चोङबाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.