२९ वर्षीय राईले आफू जन्मिनुअघि नै राजनीतिमा स्थापित उम्मेदवारलाई पछारेनन् मात्र, पुरानो दलको अस्तित्वलाई चुनौती दिए । खोटाङ, २५ फागुन । खोटाङमा पुराना दलहरुको संगठन थियो, पटक-पटक चुनावमा लडेको अनुभव थियो ।
परिपक्व र राष्ट्रिय ‘फेस’ बनाएका नेताहरू थिए । तर वर्षौँदेखि पकड जमाएर बसेका दल र तिनका उम्मेदवारलाई भर्खरै उदाएको श्रम संस्कृति पार्टीका आरेन राईले पछि पारे ।
२९ वर्षीय राईले आफू जन्मिनुअघि नै राजनीतिमा स्थापित उम्मेदवारलाई पछारेनन् मात्र, पुरानो दलको अस्तित्वलाई चुनौती दिए । उनी राजनीतिका बा पुस्तालाई जनमतमार्फत पाखा लगाउन सफल भए ।
एमालेका उम्मेदवार देवविक्रम राईलाई ३ हजार ८९८ मतले पछि पार्दै आरेन विजयी भएका हुन् । आरेनले १६ हजार ६१२ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी देवविक्रमले १२ हजार ७१४ मत पाएका छन् ।
केपिलासगढी गाउँपालिका–१ फेदीमा २०५३ साल असोज ८ गते जन्मिएका हुन् आरेन । तुलनात्मक रुपमा राजनीतिमा उनको अनुभव कम छ । तत्कालीन नेकपा माओवादीको साधारण सदस्य बनेर २०७० सालदेखि औपचारिक राजनीति सुरु गरेका आरेनले छोटो समयमै संसदमा फड्को मार्ने अवसर पाएका छन् ।
उनी राष्ट्रवादी केन्द्र, मंगोल नेशनल अर्गनाइजेसन हुँदै श्रम संस्कृति पार्टीमा पुगेका हुन् । हाल उनी पार्टीका महासचिव छन् ।
आरेन २०७१ सालमा राष्ट्रवादी केन्द्र नेपालको केन्द्रीय सदस्य र २०७२ सालमा राष्ट्रवादी युवा संघको केन्द्रीय उपाध्यक्ष बनेका थिए । २०७४ मा मंगोल नेशनल अर्गनाइजेसनमा आवद्ध भए । मंगोल नेशनल अर्गनाइजेसनमा सात वर्ष काम गरेका आरेन अन्तमाः श्रम संस्कति पार्टीमा जोडिए ।
उनले प्रमाण–पत्र तहको अध्ययन पूरा गरेका छन् । उनले मेचीदेखि महाकालीसम्मका ६५ जिल्लाको यात्रा गरेका छन् । आरेनको जितले जिल्लाको राजनीतिमा युवाको उपस्थिति देखाएको छ । सँगै हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी स्थापित भएको छ ।
‘हाम्रो संगठन छ, हामी बलिया छौँ, हामी सर्वेसर्वा हौं’ भन्दैआएका दलहरुलाई ‘झट्का’ दिएको छ । नेता र जनताबीचमा बनेको ‘खाडल’ उदांगो भएको छ । पुरानो पार्टीप्रतिको वितृष्णा ब्यालेटमार्फत पोखिएको छ ।