केही दिनअघि म ठमेलको मन्डला स्ट्रिटको भिडमा उभिएकी थिएँ — त्यही बेला दुई जना विदेशीहरू मेरो छेउबाट हिँडे।
उनीहरू अचानक उत्साहित भए र चोर औंलाले एक पसलतिर देखाउँदै भने — पम्परनिकल बेकरी। उनीहरूमध्ये एक जनाको मोबाइलमा म्यापले ‘अराइभ्ड इन योर लोकेसन’ भनिरहेको थियो।
बेकरी अगाडि पुगेपछि भने उनीहरू झसंग जस्तै भए। आपसमा खासखुस गरे। छेउमै उभिएकी मसँग आँखा जुधेपछि उनीहरूले अंग्रेजीमा सोधे, ‘यहाँ पहिले बगैंचा थियो होइन?’ मैले उनीहरूलाई केही वर्षअघि यहाँको संरचना फेरिएको जानकारी दिएँ।
उनीहरू स्पेनबाट आएका रहेछन्। आजभन्दा सात वर्षअघि नेपाल आउँदा यही पम्परनिकल बेकरीमा खाएको सम्झना मलाई सुनाए। अनि चम्किलो मुहार लिएर ‘बाई’ भन्दै बेकरीभित्र छिरे सात वर्षअघि आएको ठाउँ एक पर्यटकले सम्झिँदै फर्केको बेकरीको कथा के रहेछ त?
यही जिज्ञासा बोकेर म पनि पम्परनिकल बेकरी गएँ र कुराकानी गरेँ। यो बेकरी ४० वर्षअघि नोर्बु श्रेष्ठले सुरू गरेका हुन्।
नोर्बु सानैदेखि रेस्टुरेन्टको काममा भिजेका थिए। उनका आमाबुबा बौद्धमा एउटा रेस्टुरेन्ट चलाउँथे। नोर्बुले पनि कक्षा दसको परीक्षा (टेस्ट) दिएपछि बिदामा त्यहाँ सक्रिय रूपमा काम गरे। नोर्बुलाई खासगरी रोटी (भुंग्रोमा वा तावामा बनाइने बाक्लो) बनाउन मनपर्थ्यो। त्यसै समयमा एक दिन उनको भेट एक जना जर्मन पर्यटकसँग भयो।
ती पर्यटकले जर्मनीको प्रमुख खाना पाउरोटी (ब्रेड) भएको बताए। उनले विभिन्न प्रकारका पाउरोटीबारे जानकारी दिए। उनलाई खास किसिमको ब्राउन ब्रेड बनाउने तरिका पनि बताइदिए।
त्यसपछि नोर्बु हौसिए। ह्वाइट ब्रेड सामान्य भइसके पनि ब्राउन ब्रेड बजारमा धेरै थिएन। उनले आफ्नो घरपछाडि माटोको भट्टीजस्तो चुह्लो बनाए र ओभनका रूपमा प्रयोग गरे। ब्राउन ब्रेड बनाएर बुबाकै रेस्टुरेन्टबाट बेच्न थाले।
‘त्यो बेला नेपालीहरूलाई यस्तो खालको पाउरोटीको स्वाद थाहा थिएन। त्यसैले मेरै परिवारका मान्छेले पनि त्यसको स्वाद लिन सकेनन्,’ नोर्बुले भने।
रेस्टुरेन्टमा आउने विदेशीहरूले भने यसमा चासो दिए।
नोर्बुले ब्राउन ब्रेडका ग्राहक को रहेछन् भन्ने बुझे। अनि पर्यटकको धेरै चहलपहल हुने ठाउँ ठमेलमा बेकरी खोल्ने सोचे।
‘मलाई ब्राउन ब्रेड नै बनाउन मन थियो। जर्मन भाषामा त्यस्तो ब्रेडलाई पम्परनिकल भनिने रहेछ। मलाई यसबारे जानकारी दिने ती जर्मन साथीले बेकरीको नाम पम्परनिकल राख्न सुझाव दिए,’ नोर्बुले बेकरीको नाम पछाडिको कथा सुनाए।
यो बेकरीमा ती जर्मन साथीले पनि साझेदारी गरे।
दुई जना मिलेर पाँच हजार रूपैयाँ जम्मा गरे र सन् १९८६ मा ठमेलमा खोले — पम्परनिकल।
त्यो बेला यो पसल बेकरी बिक्री केन्द्र मात्र थियो। न बसेर खाने सुविधा थियो, न पकाउने चुह्लो। नोर्बु सबै परिकार बौद्धमै बनाउँथे र साइकलमा राखेर पसलसम्म ल्याउँथे।
‘दिनमा पाँच–छ वटा ब्रेड बेचेर घर फर्किन्थेँ। त्यस बेला दसदेखि १२ रूपैयाँमा बेच्थेँ,’ उनले भने।