महाकवि लक्ष्मीप्रसाद देवकोटाले भन्नुभएको छ — मन बिसाउन सकिने मन भएको मान्छे खोज्छ मान्छे। हो, म आज मन बिसाउने मन खोजिरहेको छु।
आदरणीय शिक्षामन्त्रीज्यू, हजुरलाई थाहा छँदैछ जोसँग बढी अपेक्षा गरिन्छ, उसैलाई भन्न मन लाग्छ। दुःख साट्न मन लाग्छ। पिरोल्न मन लाग्छ। मनको भारी त्यही काँधमा बिसाउन मन लाग्छ। मन्त्रीज्यू, तपाईं ज्ञान र अनुभवका दृष्टिले मेरा लागि सिक्न योग्य व्यक्तित्व हुनुहुन्छ।
जुन शीर्षकमा म आज तपाईंसँग अपेक्षाको भारी बिसाउँदै छु, त्यही कार्यमा तपाईंले सिंगो जीवन अर्पण गर्नुभएको छ। हन्डरहरूको जँघार तर्नुभएको छ। सानै भए पनि आशाको दियो बालिरहनुभएको छ।
मन्त्रीज्यू, मलाई थाहा छैन यो शीर्षकमा तपाईं समक्ष मैले बहस र अपेक्षाको भारी बिसाउनु इन्द्रको अगाडि स्वर्गको बखान पनि हुन सक्छ। तथापि तपाईंको असाधारण स्तरको साधारणपन र उत्पादन प्रणालीसँग जोडिन नसकेको नेपालको शिक्षा प्रणालीका विषयमा अनुभूति र अपेक्षाहरू राख्ने अनुमति चाहन्छु।
डाक्टर महावीर पुन भन्नासाथ सबभन्दा पहिले तपाईंको साधारणपन सम्झना आउँछ। तपाईंको बोली तथा व्यवहार निकै सहज र निस्कपट लाग्छ। ठूलो हैसियत, पद वा प्रसिद्धिले तपाईंलाई कृत्रिम बनाएको छैन। अहंकारी बनाएको छैन। साँच्चिकै साधारण हुनु आफैमा असाधारण सामर्थ्य हो।
तपाईंको लवाइ–खवाइले पनि साधारणपनको उत्कृष्टता दर्शाउँछ। सजिलो कपडा, सहज बोली र अति साधारण व्यवहारले तपाईंलाई आम मान्छेको माझ अझ नजिक र आत्मीय बनाएको छ।
तपाईंको साधारण जीवनशैली भित्र असाधारण उद्देश्य लुकेको छ। रूपान्तरणको सोच, संकल्प र साधना लुकेको छ। नेपालको दुर्गम गाउँ–बस्तीमा इन्टरनेट पुर्याउने काम होस् वा ग्रामीण विकासका लागि अनुसन्धान र आविष्कारलाई प्रोत्साहन गर्ने काम, सबै कुरा तपाईंले शान्त तर दृढ संकल्पसहित गर्नुभएको छ। तपाईंले गरेको काम आफै बोल्छ कुनै प्रचारप्रसार वा विज्ञापन गर्न परिरहेको छैन।
गाउँघरका बालबालिकाले शिक्षा पाऊन्, बिरामीले स्वास्थ्य सुविधा पाऊन्, देशले नवप्रवर्तन र आविष्कारको बाटो समातोस्, युवाले देश भित्रै उद्यम गरून्, रोजगारी पाऊन् भन्ने सोचमा तपाईं निरन्तर लागिरहनु भएको छ। तपाईंका उत्कृष्ट कार्यहरूले तपाईंको साधारणपनलाई झनै प्रकाशमान बनाएको छ।
स्रोत र साधनको अभाव हुँदाहुँदै पनि तपाईंको सोच कहिल्यै साँघुरो भएन। पैसा वा पहुँच नभएको अवस्थामा पनि तपाईंले उपलब्ध साधनमै नयाँ उपाय खोज्ने साहस गर्नुभयो। यही सोचले तपाईंलाई विशेष बनाएको छ। मन्त्रीज्यू, अब म पिरोलिएको मनको पेटारो खोल्ने अनुमति चाहन्छु।
तपाईं जानकार नै हुनुहुन्छ, सक्षम मानव स्रोतले मात्रै अन्य उत्पादनका साधनबाट उत्पादन लिन सक्छ। आज हाम्रा सबै उत्पादनका साधनको उत्पादन र उत्पादकत्व कम हुनुको मूल कारण नै मानव स्रोतको विकासको मूल कार्यप्रणाली शिक्षालाई उत्पादन प्रणालीसँग जोड्न सकिएको छैन।
मन्त्रीज्यू, उत्पादन प्रणालीसँग नजोडिएको शिक्षा प्रणालीको रेललाई त्यसको ड्राइभरले विकास र समृद्धिको गन्तव्यमा पुर्याउन सम्भव छ र? आज तपाईं त्यही रेलको ड्राइभर हुँदै गर्दा पक्कै पनि यो प्रश्नले तपाईंलाई पछ्याइरहेको होला।
मन्त्रीज्यू, शिक्षामा स्वदेशीपनको आत्मानुभूति र उद्देश्यशीलता प्रवर्द्धन गराउन भारतका महात्मा गान्धी, चीनका माओ त्सेतुङ, मिश्रका अब्दुल नासिर, युगोस्लाभियाका मार्सल टिटो र तान्जानियाका जुलियस नेरेरबाट धेरै कुरा सिक्न सकिन्छ। हाम्रो देशको सन्दर्भमा शिक्षालाई समय सापेक्ष रूपान्तरण गर्न सक्ने, उत्पादन प्रणालीसँग जोडेर सीप, सूचना र संस्कार संयोजन गर्न सक्ने राज्य प्रमुख वा शिक्षाविदको इतिहास आजसम्म रचिएको छैन।
तपाईं आफैं जानकार हुनुहुन्छ, शिक्षालाई उत्पादन र स्वदेशीपनसँग जोड्न नेपालले गरेका छिरलिएका आंशिक प्रयासहरू र आवश्यकताको बीचमा ठूलो खाडल छ। नेपालको शिक्षा नीति, अभ्यास र नतिजाको बीचमा ठूलो विचलन छ।
नेपालमा विद्यालय शिक्षालाई आविष्कार र उत्पादनसँग जोड्न तथा शिक्षा प्रणालीलाई व्यावहारिक, स्थानीय आवश्यकतामुखी र २१ औं शताब्दीको सीपसँग सुसंगत बनाउने अभिप्रायले केही प्रयास भएका छन्।
तथापि सैद्धान्तिक शिक्षामा केन्द्रित पाठ्यक्रम, प्रयोगात्मक र उत्पादनमुखी शिक्षाको अभाव, समस्या समाधान क्षमताको विकास गर्ने शिक्षण विधिको कमी र आविष्कारको अवसर नपाइने अवस्था, ग्रामीण क्षेत्रमा उपकरण, इन्टरनेट, ल्याबको अभाव, नयाँ आविष्कारकर्तालाई आर्थिक, कानुनी र बजार पहुँचमा सहयोग पुर्याउने परिपाटीको कमी जस्ता कारणले नेपालमा आविष्कार र उत्पादनले गति लिन नसकेको कुराको सaभन्दा ठूलो साक्षी तपाईं आफै हुनुहुन्छ।
नेपालको संविधानले राज्यको नीतिका रूपमा शिक्षालाई वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमूलक, रोजगारमूलक एवं जनमुखी बनाउँदै सक्षम प्रतिस्पर्धी, नैतिक एवं राष्ट्रिय हितप्रति समर्पित जनशक्ति तयार गर्ने संकल्प गरेको छ। उक्त नीतिको कार्यान्वयनलाई जोड दिँदै विद्यालयहरूमा विज्ञान तथा स्ट्रिम प्रयोगशाला स्थापना गर्ने र विश्वविद्यालय शिक्षा तथा सिटिइभिटीमार्फत जनशक्ति विकासको आंशिक प्रयास भएको छ।
विज्ञान, प्रविधि र नवप्रवर्तन नीति–२०७६ (नवप्रवर्तनलाई समावेशी र दिगो विकाससँग जोड्ने नीति), राष्ट्रिय अनुसन्धान परिषद, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (अनुसन्धान र प्रविधिको प्रवर्द्धनमा सक्रिय), डा. महावीर पुन (तपाईं) को अगुवाई रहेको राष्ट्रिय आविष्कार केन्द्र (ग्रामीणस्तरका प्रविधि, यन्त्र निर्माण, आविष्कार सिकाइ र स्थानीय समस्या समाधानमा कार्यरत), स्टार्टअप नीति र नवप्रवर्तनको प्रवर्द्धन (कर छुट तथा नवप्रवर्तन प्रतिस्पर्धा कार्यक्रमहरू) जस्ता नीतिगत, संस्थागत र कार्यगत प्रयासहरू भएका छन्।
यस्ता प्रयासको उद्देश्य युवा तथा विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा सीमित नराखी सिर्जनशील, समस्या समाधान गर्न सक्ने र स्वदेशमै रोजगारी सृजनामा सक्षम बनाउने हो तर जे जति प्रयास भएका छन् न ती पूर्ण छन्, न नतिजामुखी।
मन्त्रीज्यू, हामी हाम्रो देशको ज्ञान, विज्ञान र प्रविधिले राष्ट्रिय अर्थतन्त्रमा कति योगदान गरेको छ भनेर तथ्यगत आधारमा भन्न सक्ने अवस्थामा पनि छैनौं।
नेपालमा विद्यालय शिक्षालाई आविष्कार र उत्पादनसँग जोड्ने केही प्रारम्भिक छिटपुट प्रयास भएका छन्। तर यी प्रयास अझै संरचना, प्रणाली, नीति कार्यान्वयन, शिक्षक प्रशिक्षण र स्रोतको पहुँच तथा निरन्तर प्राथमिकता जस्ता आधारभूत पक्षमा निम्छरो अवस्थाबाट पेलिएका छन्।
विद्यालय शिक्षालाई आविष्कार र उत्पादनसँग जोड्ने सन्दर्भमा रहेका संरचना, नीति कार्यान्वयन, शिक्षक प्रशिक्षण र स्रोतको पहुँच तथा निरन्तर प्राथमिकता जस्ता विषयमा रहेका आधारभूत सीमितता हटाउन यथास्थिति र हालकै प्रयासबाट सम्भव छैन। नयाँ आयामको खोजी हुन आवश्यक देखिन्छ।
यसै सन्दर्भमा यस्तै परिवेश भोगेर जनशक्तिको विकास, आविष्कार र उत्पादनमा आज सारा विश्वलाई रहर लाग्दो उदाहरण प्रस्तुत गरेको चीनबाट हामीले सिक्न सकिने कुरा धेरै छन्।
आदरणीय मन्त्रीज्यू, चीनले विद्यालय तहदेखि नै नवप्रवर्तनशील, उत्पादनमुखी र अनुसन्धानमैत्री शिक्षा प्रणाली विकास गरेर शिक्षा र अर्थतन्त्रबीचको गहिरो सहकार्य कायम गरेको र शिक्षालाई उत्पादनसँग जोडेर स्थानीय स्रोतसाधनको समुचित उपयोग, मानव स्रोतको उत्पादक उपयोग र प्रविधिमा आत्मनिर्भरता सम्भव बनाएको कुरामा हजुर पक्कै जानकार नै हुनुहुन्छ।