विश्वव्यापी याक्थुङ लिम्बू भाषा अनलाइन कविता प्रतियोगिताको पहिलो चरणको नतिजा सार्वजनिक

राजकुमार तेयुङ

किरात याक्थुङ चुम्लुङ छल्लादो शाखा दक्षिण कोरियाले आयोजना गरेको विश्वव्यापी याक्थुङ (लिम्बू) भाषा अनलाइन कविता प्रतियोगिता–२०२६ को पहिलो चरणको नतिजा सार्वजनिक गरेको छ।

प्रतियोगिताको पहिलो चरणमा नेपाल, भुटान र सिक्किमलगायत विभिन्न स्थानबाट प्राप्त ५० वटा कविताको मूल्याङ्कनपछि निर्णायक मण्डलले उत्कृष्ट १० कविता छनोट गरेको आयोजक संस्थाका संयोजक चन्द्र थक्लेन् लिम्बूले जानकारी दिनुभयो।

सार्वजनिक गरिएको उत्कृष्ट १० मा बाली छथरे, भरत थोक्लेन, भीम कुरुम्बाङ, डेनहाङ याक्थुङ, कल्पना लिङ्देन, माङ्सा लिम्बू, साङ्सेन पन्धाक, शान्तिराम पन्धाक, तेमेनहाङ लिम्बू र यस गोधुली रहनुभएको छ।

प्रतियोगिताको निष्पक्षता र मूल्याङ्कन प्रक्रियाको पारदर्शिता कायम राख्न आयोजकले सहभागी कवि तथा सर्जकहरूको नाम गोप्य राखी प्रत्येक कवितालाई छुट्टाछुट्टै कोड नम्बर प्रदान गरेको थियो। निर्णायक मण्डललाई पनि कविहरूको वास्तविक नाम जानकारी नगराई सोही कोड नम्बरका आधारमा कविता मूल्याङ्कन गर्न उपलब्ध गराइएको थियो। यसरी नामभन्दा सिर्जनालाई प्राथमिकता दिँदै स्वतन्त्र रूपमा मूल्याङ्कन गर्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी भएका सम्पूर्ण कवि तथा सर्जकहरूलाई उनीहरूको सिर्जनात्मक योगदानको सम्मानस्वरूप आयोजक संस्थाका तर्फबाट ‘Certificate of Recognition’ (डिजिटल प्रमाणपत्र) प्रदान गरिनेछ। प्रतियोगितामा उत्कृष्ट १० मा छनोट भएका तथा छनोट हुन नसकेका सबै सहभागीलाई समेटेर याक्थुङ भाषा, साहित्य र

सिर्जनाप्रतिको उनीहरूको योगदानलाई सम्मान गर्ने उद्देश्यले उक्त प्रमाणपत्र प्रदान गर्न लागिएको आयोजकले जनाएको

हालसम्म निर्णायक मण्डलका सदस्यहरूको नाम सार्वजनिक गरिएको छैन। आयोजकले अब चाँडै निर्णायकहरूको नाम तथा प्रतियोगितासँग सम्बन्धित आवश्यक विवरण सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

याक्थुङ लिम्बू भाषा, साहित्य, सिर्जना र मौलिक पहिचानलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा प्रथम पुरस्कार नगद  ५० हजार, दोस्रो पुरस्कार रु. ३० हजार र तेस्रो पुरस्कार  २५  हजार रहेको आयोजक संस्थाका अध्यक्ष भूपेन्द्र फागो लिम्बूले बताउनुभयो।

त्यसैगरी सात जनालाई जनही  ५  हजारका दरले सान्त्वना पुरस्कार प्रदान गरिनेछ भने एक जना सर्जकलाई १० हजारको पब्लिक च्वाइस अवार्ड प्रदान गरिने आयोजक संस्थाका सचिव सन्देश इजम लिम्बूले जानकारी दिनुभयो।

पहिलो चरणबाट छनोट भएका उत्कृष्ट १० कवितामध्ये दोस्रो चरणका लागि प्रतिस्पर्धीहरूले आफ्नो कविता वाचन गरेको भिडियो पाँच दिनभित्र निर्णायक मण्डललाई उपलब्ध गराउनुपर्ने आयोजक समितिले जनाएको छ।

प्रतियोगिताको अन्तिम नतिजा सिरिजङ्गा सिङ्थेबेको जन्मजयन्तीको अवसर पारेर वि.सं. २०८३ मंसिर २६ गते (सन् २०२६ डिसेम्बर १२) सार्वजनिक गरिने आयोजक संस्थाका संयोजक चन्द्र थक्लेन् लिम्बूले जानकारी दिनुभयो।

विभिन्न देश तथा भूगोलमा रहेका याक्थुङ सर्जकहरूलाई एउटै साहित्यिक मंचमा जोड्दै भाषा, साहित्य र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षासहित प्रतियोगिता आयोजना गरिएको हो।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.