पान्थर / लिम्बू पत्रकार संघ, जिल्ला कार्य समिति पान्थरको आयोजनामा याक्थुङ (लिम्बू)हरुको महान चाड चासोक तङनामको अवसरमा शुभकामना आदान–प्रदान एवम् चासोक तङनामको साँस्कृतिक महत्व र उपादेयताबारे अन्त्ररक्रिया कार्यक्रम सम्पन्न भएको छ।
शुक्रबार फिदिम–१ फाल्गुनन्द चोक स्थित नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथिको आशनबाट लिम्बू पत्रकार संघका तुम्याहाङ विजयबोध लाओतीले गर्नुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि, लिम्बू पत्रकार संघका तुम्याहाङ विजयबोध लाओतीले मौलिक याक्थुङ संस्कृति, सभ्यता, इतिहास र परम्पराको संरक्षण र विकासमा लिम्बू पत्रकार संघ गम्भीर र क्रियाशील रहेको उल्लेख गर्दै चासोक तङनामले सबै समुदायलाई एकताको शुत्रमा बाध्न प्रेरित गर्ने बताउनुभयो।
त्यस्तै चासोक तङनामको मुन्धुमी मिथक, साँस्कृतिक महत्व र उपादेयताबारे साँस्कृतिक अभियन्ता डा.मधुराज केरुङले प्रकाश पार्नुभएको थियो। केरुङले याक्थुङ (लिम्बू)का आदिम पुर्खा सावायेत्हाङहरु कृषि युगमा प्रवेश गरेसँगै सुरु भएको चासोक तङनामले याक्थुङ सभ्यता, परम्परा, सामाजिक मूल्य–मान्यता र समाज विकासको चरणबारे बुझाउने र स्मरण गराउने बताउनुभयो। उहाँले सम्मानित, सभ्य र सु–संस्कृत मान्छे निहुरिनुपर्छ र निहुरिन जान्नुपर्छ भन्ने दर्शन समेत यसभित्र रहेको उल्लेख गरे।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद पान्थरका अध्यक्ष सागर केरुङ, नेपाल पत्रकार महासंघ पान्थरका अध्यक्ष भीमकुमार बाँस्कोटा र जिल्लास्थित सम्पूर्ण पेशागत पत्रकार संगठनहरुको तर्फबाट नेपाल प्रेस युनियन पान्थरका अध्यक्ष खबिन लुईंटेलले शुभकामना मन्तव्य राख्नुभएको थियो।
शुभकामना आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रममा जिल्लास्थित साँस्कृतिक अभियन्ता, सामाजिक संघ–संस्था, पत्रकारजन्य संघ–संस्था र मिडिया हाउसका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
लिम्बू पत्रकार संघ, जिल्ला कार्य समिति पान्थरका अध्यक्ष रजनी हाङ्सरुम्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागिले चासोक–प्रसाद समेत ग्रहण गरेका संघका जिल्ला सचिव इवारा लिम्बूले बताउनुभयो।