म्याग्दीबाट सुरु भयो ‘रोल नम्बर १’को छायांकन

काठमाडौं । धौलागिरी हिमालको काखमा रहेको पर्यटकीय जिल्ला म्याग्दी पछिल्लो समय प्रसिद्ध फिल्म छायांकन स्थल बनेको छ । पछिल्लो समय एकपछि अर्को गरि ठूलो बजेटका फिल्म यहाँ छायांकन हुन थालेका छन् ।

यो सूचीमा थपिएको छ फिल्म- रोल नम्बर १ । सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ को निर्मातामध्येका एक विनोद पौडेलले यो फिल्म निर्माण गर्न लागेका हुन् । आगामी फिल्म ‘अभिमन्यु’ प्रदर्शनअघि पौडेलको नयाँ फिल्म छायांकनमा निस्किएको हो ।डेढ महिनासम्म म्याग्दीका विभिन्न स्थानमा छायांकन हुने उनले जानकारी दिए ।

मुख्य भूमिकामा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी, शुन्दर धिताल र निर्भिक रेग्मी छन् । जोन योञ्जनले निर्देशन गर्ने यो फिल्म शैक्षिक कथावस्तुमा बन्न लागेको हो ।

सामाजिक प्रतिष्ठाका नाममा विद्यार्थीले झेल्नुपर्ने मनोवैज्ञानिक दबाबको कथामा फिल्म बन्ने जनाइएको छ । महेश दवाडीको पटकथा तथा संवाद रहने फिल्ममा प्रशान्त शिवाकोटीको संगीत रहनेछ ।सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने चलचित्रको निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं कार्यकारी निर्माता रहेका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.