‘महामन्त्रीले कांग्रेसमा विग्रह ल्याउन चाहनुहुन्छ’

१० मंसिर, काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशन कि नियमित भन्ने बहस चर्को रुपमा उठेको छ । संस्थापन पक्षले २१ फागुनको निर्वाचनपछि नियमित महाधिवेशन गर्नुपर्ने बताएको छ भने इतर पक्षले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चुनेर निर्वाचनमा जानुपर्ने आवाज उठाउँदै आएको छ ।

यो बहसले केन्द्रदेखि वडा तहसम्म कांग्रेसमा स्पष्ट दुई धार देखिएको छ । यस्तो बेलामा विशेष महाधिवेशन पक्षधरले आज काठमाडौंमा विशेष भेला आयोजना गरेको छ ।

त्यो भेलालाई संस्थापन पक्षले कसरी लिएको छ र कांग्रेसभित्रको यो विवाद कसरी समाधान हुन्छ ? भन्ने विषयमा केन्द्रित रहेर केन्द्रीय सदस्य गुरु बरालसँग विनोद घिमिरेले गरेको कुराकानी :

नेपाली कांग्रेस त विशेष कि नियमित महाधिवेशन भनेर अल्झिरहेको छ । अनि एउटा पक्षले विशेष महाधिवेशनका लागि दबाब दिनलाई आज काठमाडौंमा भेला पनि गर्दैछ । यसलाई तपाईंहरूले कसरी हेर्नु भएको छ ?

नेपाली कांग्रेसमात्र होइन, राष्ट्रिय राजनीति अत्यन्त पेचिलो र संक्रमणकालमा प्रवेश गरेको छ । भदौ २३ र २४ गते देशमा जुन खालको अवस्था निर्माण भयो, यसले सबै राजनीतिक दलहरूलाई विभाजित र निराश बनाएको छ । मैले यति मात्र भने । तर, यो सबै कुराको निकास दिनका लागि कांग्रेस संग्लिएर, तंग्रिएर जान जरुरी छ ।

यसकै लागि भनेर हाम्रो केन्द्रीय कार्यसमिति बैठक पनि लामो भयो । बैठकमा पनि विभिन्न मत–मतान्तरहरु आए । महामन्त्रीले प्रस्ताव ल्याउनु भएको छैन तर, केही साथीहरुले पार्टीको केन्द्रीय कार्यालयमा विशेष महाधिवेशनको प्रस्ताव दर्ता गरेको जानकारीमा आएको छ ।

हाम्रो केन्द्रीय कार्यसमितिको कार्यकाल त अझै १५–२० दिन बाँकी होला । भोलिका मितिदेखि हाम्रा जिल्ला तहसम्मका सबै समितिहरूको कार्यकाल पनि सकिएको छ । कार्यकाल पूरा भइसकेपछि अथवा कार्यकालको अन्तिम वर्षमा विशेष महाधिवेशन, १५ औं महाधिवेशन भनेर धेरै रडाको गर्नुभन्दा देशको राष्ट्रिय राजनीति अहिले प्रतिकुल दिशामा गएको छ, लोकतन्त्र खतरामा परेको छ । आम रुपमा हामीले सभा समारोह जस्ता कार्यक्रम गर्ने अवस्था पनि छैन ।  यसलाई हामीले सम्झिएर, एक ठाउँमा उभिएर सही दिशा दिनका लागि कांग्रेस एकीकृत हुन जरुरी छ ।

यस्तो विषम परिस्थितिमा साथीहरूले के मनसायका साथ यी अभियान चाल्नुभयो त्यो कुरा अत्यन्तै दु:खद छ ।

उहाँहरुले लिक बाहिर गएको कांग्रेसलाई सही दिशा दिनकै लागि यो सब गरिरहेको भन्नु भएको छ । तपाईं के भन्नुहुन्छ ?

नियमित १५ औं महाधिवेशनको कार्यतालिका कार्यसमितिमा ल्याउने र सबै नेता, सबै तह, सबै पक्षको भावनालाई प्रतिनिधित्व गर्दै सबैलाई ‘वीन–वीन सिचुएसन’मा पुर्‍याएर निर्णयका साथ आउनका लागि केन्द्रीय कार्यसमितिको मिटिङ ढिलो भएको छ ।

नेताहरूलाई पनि हामीले सबै पक्षहरूसँग सल्लाह गरेर संयुक्त रुपमा एककृत प्रस्ताव ल्याउनुस् भनेर हामीले निरन्तर दबाब दिइरहेका छौं । अहिले विशेष र नियमित भनेर झगडा गर्ने बेला होइन ।

हामीले पहिले राष्ट्रिय राजनीतिलाई ‘लिक’मा लिएर आऔं, राष्ट्रिय राजनीतिलाई पहिले मूल प्रवाहमा लिएर आऔं, घायल संविधानलाई मूल प्रवाहमा लिएर आऔं, प्रतिनिधिसभाको निर्वाचनमा एक ठाउँमा जुटौं, राष्ट्रिय राजनीति सग्लिएर आइसकेपछि पार्टी भित्रको राजनीतिमा फेरी प्रतिस्पर्धा गरौंला तपाईंको मिडियामार्फत् निवेदन गर्न चाहन्छु ।

राष्ट्रिय राजनीति कहाँ पुगेर कसरी संग्लिने हो भन्ने अन्योलको अवस्था छ । यस्तो अवस्थामा कांग्रेस जस्तो जिम्मेवार पार्टी घर झगडामा अल्झिएको छ । तपाईंले त झन् निकास दिनुपर्ने हो नि त ?

अनि राष्ट्रिय राजनीति संघाल्ने जिम्मा कस्तो त ? संघाल्ने जिम्मा त हाम्रो कांग्रेसको हो । पुरानो पार्टी, जेठो पार्टी, ठूलो पार्टी, मेच्युअर पार्टी, नेसनली– इन्टरनेसनली रिकग्नेसन पार्टी भएका हिसाबले हाम्रो जिम्मा हो । हामी आफैं घर झगडा गरेर तँलाई बहिस्कार गर्‍यौं, तँलाई निकाल्यौं, तँलाई निकाल्छौं, तँ अयोग्य भन्ने खालका झगडा गरेर त निस्कन्न नि राष्ट्रिय राजनीतिको निकास ।

त्यसो भएर हाम्रो आग्रह के हो भने संगठित भएर, सबै आग्रह पूर्वाग्रहहरूलाई अहिले एकछिन थाती राखेर, सकभर सबै तिलाञ्जली गर्दिऔं । केही सकिन्न, गुनासाहरू छन् भने पनि एकछिन थाती राखेर राष्ट्रिय राजनीतिलाई संघालौ भन्ने हो नि त ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.