केपी शर्मा ओलीलाई कसरी भारतबाट टाढा पुर्याउने भनेर प्रचण्ड र माधव नेपालले नै दबाब दिएर छाप्दाछाप्दैको नीति तथा कार्यक्रममा चुच्चे नक्साको प्रसंग हाल्न लगाइयो । चुच्चे नक्साका लागि ओलीलाई धन्यवाद ।
नेकपा (माले) का संस्थापक महासचिव सीपी मैनाली नेपालगञ्जमा सम्पन्न छैटौं महाधिवेशनसम्म नेकपा (एमाले) मा थिए । २०५४ सालको त्यही महाविधेशनबाट वामदेव गौतम लगायतसँग मिलेर एमाले फुटाएर माले पुनर्गठन गरे । २०५६ सालको निर्वाचनमा एक सिट पनि जित्न नसकेपछि वामदेव लगायत प्रायः सबै नेताहरू एमालेमा फर्किँदा मैनालीले मालेलाई निरन्तरता दिए । उनै मैनालीसँग एमालेको महाधिवेशनबारे अनलाइनखबरका सन्त गाहा मगरले गरेको संवादको सम्पादित अंशः
एघारौं महाधिवेशनको संघारमा रहेको एमालेलाई आजको परिवेशमा कसरी मूल्यांकन गर्नुहुन्छ ?
२०४९ सालमै एमालेले मार्क्सवादी सिद्धान्तलाई छाडेर जनताको बहुदलीय जनवाद (जबज) भन्ने उद्धार पूँजीवादलाई आफ्नो मार्गनिर्देशक सिद्धान्त बनायो । नेताहरू देश र जनतालाई भन्दा व्यक्तिगत सम्पत्तिलाई प्राथमिकता दिनुको सैद्धान्तिक जग नै जबज हो । सरकारमा चुनाव गरेर पनि पुग्न सकिन्छ तर राज्य बदल्न जनताको बल चाहिन्छ जुन कुरा जबजले मान्दैन । राज्य र सरकार सम्बन्धी दृष्टिकोणमा चिप्लिएको हुनाले नेताहरूमा पूँजीवादी चरित्रका गल्ती कमजोरीहरू देखा परेका हुन ।
यहाँले सिद्धान्तलाई दोष दिनुभयो । जबज मौलिक सिद्धान्त होइन र ?
यो मौलिक होइन । सोभियत संघको नीतिबाट आजित भएका युरोपियन कम्युनिस्टहरूले १९७०–८० को दशकमा युरो–कम्युनिज्म भन्ने सिद्धान्त निकाले । जसले युरोपमा विकसित पूँजीवाद छ, पूँजीवादी प्रजातन्त्र सशक्त र व्यवस्थित छ । त्यसकारण पूँजीवादी प्रजातन्त्रको चुनावबाट नै सत्तामा गएर समाजवाद ल्याउन सक्छौं भनेको छ । तर त्यहाँ पनि पाँच–सात वर्ष पनि चल्न सकेन । त्यही असफल सिद्धान्तको फोटोकपी हो जबज । सुरेन्द्र ढकालले त युरोकम्युनिज्मको किताब मदन भण्डारीलाई मैले नै दिएको हुँ भन्नुहन्थ्यो । यो असफल सिद्धान्तको नक्कल हो, सफल सिद्धान्तको नक्कल गरेको भए पनि हुन्थ्यो । विश्व कम्युनिस्ट आन्दोलनमा जानकारी नराख्ने यहाँका कम्युनिस्ट र समर्थकले त्यसलाई पत्याएर मौलिक सिद्धान्त भनेका हुन, जुन लाजमर्दो कुरा हो ।
२०५१ मा मनमोहन अधिकारीको नेतृत्वमा बनेको नौ महिने सरकारमा यहाँ पनि मन्त्री हुनुहुन्थ्यो । जबजलाई मार्गनिर्देशक सिद्धान्त मानेको एमाले सरकारले ल्याएको ‘आफ्नो गाउँ आफैं बनाऊँ’, ज्येष्ठ नागरिकलाई भत्ता जस्ता कार्यक्रम त आजपर्यन्त लोकप्रिय छ त ?
कुनै पनि सिद्धान्त व्यवहारमा रुपान्तरण हुन समय लाग्छ । मनमोहन अधिकारीको नेतृत्वमा सरकार बन्दा जबजको नीति लिएको दुई वर्ष पनि भएको थिएन । जतिबेलासम्म एमालेमा मार्क्सवाद रंगगन्ध केही बाँकी थियो । म स्थानीय विकास मन्त्री थिएँ । त्यही मन्त्रालयबाट आफैं गाउँ आफैं बनाउँ भन्ने नीति कार्यक्रम अगाडि सारियो ।
त्यसलाई कार्यान्वयन गर्न भरमग्दुर प्रयास गरें । यो कार्यक्रमको विरोधमा भएका कांग्रेस लगायतका साथीहरूलाई पनि समितिमा राखेर काम गरें । त्यो कार्यक्रम सामूहिक विचारबाट आएको थियो तर कार्यान्वयन गर्ने जिम्मेवारीमा म थिएँ । कार्यान्वयनको सफलताको भागीदार म पनि हुन्छु । पछि अरुले पनि नक्कल गरेर यस्तै कार्यक्रम लिए ।