बाँसको बोतल बेचेर थालेको कामलाई दुई साथीले यसरी बनाए ‘बेम्बो बजार’

युवा व्यवसायी प्रकृति ढुंगेल र आशिष कटुवाल बाँसबाट बनेका सामग्रीको व्यापार गर्दैछन्। उनीहरूले काम सुरू गरेको साढे एक वर्ष भयो।

हाल उनीहरूले बाँसबाट बनेका कम्तीमा ३० किसिमका सामग्री बिक्रीमा राखेका छन्। पर्यावरण संरक्षण समेतलाई ध्यानमा राखेर आधुनिक बजारमा परम्परागत सामान चिनाइरहेको प्रकृतिले बताइन्।

‘हामीले दैनिक जीवनमा प्रयोग हुने सामग्रीहरू राखेका छौं,’ उनी भन्छिन्, ‘बाँसबाट बनेका यी सामान धेरैले रूचाउनुभएको छ। माग निकै राम्रो छ।’ उनीहरूले आफ्नो व्यवसायको ब्रान्ड नाम ‘बेम्बो बजार’ राखेका छन्।

बेम्बो बजारमा ढाकी (बास्केट), किस्ती (ट्रे), काइँयो, दाँत माझ्ने ब्रस (टुथ ब्रस), पानी खाने बोतल (वाटर बोटल), मग, सिसाकलम, कलम, डायरी कभर, चिया छान्ने, चम्चा लगायत सामान पाइन्छ। यी सामान बनाउने उनीहरूको आफ्नो उद्योग भने छैन। धनकुटा, दाङ, काठमाडौं उपत्यका लगायत अन्य केही ठाउँबाट ल्याउँछन्।

उनीहरूले बाँसका सामान बनाउने परम्परागत सीप भएका व्यक्तिहरू पहिचान गरेका छन्। आफूले डिजाइन गरेर सामान बनाउन लगाउँछन्। यसरी गाउँघरमा बनेका सामान बजारमा ल्याइरहेको प्रकृतिले बताइन्।

‘हामीले हातमा सीप भएका र पहिल्यैदेखि बाँसकै सामानको व्यवसाय गरिरहेका व्यक्तिहरूसँग सहकार्य गरेका छौं। हाम्रो डिजाइनअनुसार सामान बनाएर पठाइदिनु हुन्छ,’ प्रकृतिले भनिन्, ‘ती सामान काठमाडौं आइपुगेपछि प्याकेजिङ गरेर बेच्छौं।’

कलम, दाँच माझ्ने ब्रस, किरिङ लगायत केही सामग्रीमा ग्राहकको इच्छा अनुसार सन्देश वा नाम पनि लेखिन्छ।

हाल बेम्बो बजारमा पाइने सामानको भाउ ४० रूपैयाँदेखि दुई हजार दुई सय रूपैयाँसम्म छ। कम मूल्यमा राम्रा सामान पाइने भएकाले छोटो समयमै बेम्बो बजार धेरैले रूचाएको र युवापुस्तामा पनि आकर्षण देखिएको प्रकृतिको भनाइ छ।

ग्राहकको सजिलोका लागि बेम्बो बजारले सामानलाई आठ समूहमा वर्गीकरण गरेको छ – कम्बो (दुईभन्दा बढी थरी सामानको सेट), बोटल, टुथ ब्रस, स्टेसनरी, होटल सुविधा, कर्पोरेट उपहार, ह्यान्डिक्राफ्ट र पर्सनल केयर।

प्रकृतिले भनिन्, ‘हामीले बिक्री थालेपछि कर्पोरेट हाउसहरूबाट उपहारका लागि बास्केटसहितको कम्बो अर्डर आउन थाल्यो। सामान चिन्न र अर्डर गर्न सजिलो हुने गरी वर्गीकरण गरेका छौं। ग्राहकहरूले वेबसाइट हेरेरै सामान किन्न सक्नुहुन्छ।’

बेम्बो बजारको प्रचार उनीहरूले अनलाइन माध्यमबाटै गरिरहेका छन्। सामान वेबसाइट, फेसबुक, इन्स्टाग्राम, दराज र जिभीमार्फत किन्न पाइन्छ। यसबाहेक महाराजगञ्जमा पसल पनि छ। हाल कम्पनीमा १३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

प्रकृति र आशिष दुवै जना स्नातक तहको पढाइ पूरा गरेर पूर्ण रूपमा व्यवसायी भएका हुन्। उनीहरू कलेज पढ्दादेखिकै साथी हुन्। प्रकृति डिजिटल मार्केटिङ र आशिष बिएसआइटी पढ्दै थिए।

२०८० सालको दसैंअघिको कुरा हो। कलेजको ‘प्रोजेक्ट वर्क’ का लागि कुनै उत्पादनको स्टल राख्नुपर्ने थियो। प्रकृतिलाई ह्यान्डिक्राफ्ट (हस्तकलाका सामान) मनपर्ने भएकाले यस्तै सामग्री जुटाउने सोचिन्। आशिषसँग सल्लाह गरिन्। कुरा मिल्यो। बाँसबाट बनेका सामानको स्टल राख्ने योजना बन्यो।

उनीहरूले ललितपुरको कुपण्डोलबाट केही संख्यामा बाँसका बास्केट र ट्रे ल्याए। बाँसका ३४ वटा वाटर बोटल पनि मगाए।

यो काममा ५० हजार रूपैयाँ खर्च भयो। बजेटमा दुवैले साझेदारी गरे। प्रोजेक्ट वर्कअन्तर्गत कलेजमा स्टल राखे। वाटर बोटलमा धेरैको आँखा पर्‍यो। सबै बोटल स्टलबाटै बिक्री भयो। बाँकी रहेका बास्केट र ट्रेमा प्रकृतिले अन्य सामान राखेर उपहार प्याकेज बनाइन् र सामाजिक सञ्जालमा राखिन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.