बिहानको ४ः३० बजेको घण्टी जस्तै मेरो आँखा खुल्छ। लगत्तै तयार भैदिनुपर्छ छिनभरमै आफ्नो संसार चलाउन एक आमा, एक शिक्षक र एक समर्पित गृहिणीको रूपमा।
कहिलेकाहीँ लाग्छ, ‘मेरो दिन सूर्योदयभन्दा अगाडि किन सुरू हुन्छ?’ तर फेरि आफै जबाफ दिन्छु, ‘किनकि म आमा, शिक्षक र गृहिणीको त्रिपक्षीय भूमिका पो छु त!’ कहिलेकाहीँ त दिक्क लाग्छ, सम्झन्छु भगवान सोच्छु तिमीले न्याय देऊ वा नदेऊ म तिमीलाई विश्वास गर्न छाड्दिनँ।
जीवनमा जस्तोसुकै परिस्थिति आए पनि कहिल्यै हार नमान्ने गर्दा नै जीवन साँच्चिकै जीवनजस्तो हुने रहेछ। मेरा सपनाहरू साना छैनन् तर सपनाभन्दा ठूला छन् मेरो जिम्मेवारीको पहाड। छोरीको कपडामा प्रेस, छोराको जुत्ता पालिस मात्र होइन, भोलि बिहानको लागि दाल तरकारी समेत केलाएर राख्छु अघिल्लै साँझ।
भान्सामा चिया उम्लिँदा उनी मनमनै दिनको तालिका बनाउन व्यस्त रहन्छु। छोरीको असाइनमेन्ट, छोराको नास्ता, कक्षामा टेष्ट लिनुपर्ने, घर आउँदा बजारबाट ल्याउनुपर्ने सामानको लिस्ट, जसको सूची कसैले बनाइदिँदैन।
म आफै घरको ढुंगा, किल्ला र आधारको रूपमा उभिने गरेकी छु। व्यस्त रहनु त राम्रो हो तर अति व्यस्त चलिरहेको छ मेरो जीवन यात्रा।
विद्यालयको गेटबाट छिरेपछि मेरो पैतालाले थकाइ मेटिदिन्छ। मानौं घरको झन्झट त्यही बाहिरै छोडेर नयाँ रूप धारण गर्छु। कक्षामा छिर्दा बच्चाहरूको ‘गुड मर्निङ म्याम’ मेरा लागि सौगात बन्छ। म अंग्रेजी विषय पढाउँछु माध्यमिक तहलाई।
मलाई लाग्छ, अहिलेको विद्यार्थीले किताबी कोरा ज्ञानका अतिरिक्त व्यावहारिक सीप, संस्कार, आधुनिक प्रविधि प्रति पनि त्यत्तिकै ध्यान दिनुपर्छ। विश्व नै एउटा गाउँ ‘ग्लोबल भिलेज’ को रूपमा रहेको वर्तमान अवस्थामा भोलि यी विद्यार्थीले विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्नुपर्ने कारणले ‘थिङ्क ग्लोबल्ली, एक्ट लोकल्ली’ भन्ने उक्ति अनुसार विद्यार्थी लगनशील भएर लाग्नुपर्ने लाग्छ।
निरन्तर समय दिएर जुनसुकै विषयमा लाग्दा त्यसले सफलता दिने कुरा म आफ्नो नै जीवनबाट सिकेको विषय विद्यार्थीलाई बेला बेला सम्झाउँछु।
स्कुलबाट फर्कँदै गर्दा गेटक्रसकै क्रममा म देख्छु, सूर्य थाकेर पश्चिमतिर डुब्दैछ। तर म भने अझै सुरू मात्रै हुँदैछु।
एउटा छोरो पिँठ्युमा र छोरी हातमा डोर्याउँदै थकित मुद्रामा कोठामा पुगेछि हाते ब्याग फालेर लामो श्वास लिन्छु र गम्भीर भावमा सोच्ने गर्छु, ‘ए जिन्दगी तिमी के यस्तै हौ?’ एकैछिनमा छोरो भन्छ, ‘मामु भोट लादो तोते शैलीमा। अनि छोरी मामु मेरो नोटबुक खै ? मेरो रातो टिसर्ट नै भेटिनँ यस्तै यस्तै……’ आमासँग प्रश्न अनगिन्ती, तर थकानका कुरा सुनिदिने कोही छैन।
भान्सा, सरसफाइ, पढाइ, धुलाइ, कहिले बुहारी बनेर, कहिले साथी बनेर, कहिले आमा बनेर, त कहिले मनोवैज्ञानिक, शिक्षक बनेर। कहिले म मैलाई सोध्छ, ‘के म थाक्दिनँ?’ फेरि मेरै मनले उत्तर दिन्छ, ‘थाक्न त मलाई पनि मन छ तर मेरो थकान सुत्न पाउँदैन।’