‘मेरो सरकारका तीन प्राथमिकताबारे सोध्नुहोस्, म भन्छु — शिक्षा, शिक्षा र शिक्षा।’ यी पंक्तिहरू सन् १९९६ अक्टोबरमा बेलायतको लेबर पार्टीको सम्मेलनमा टोनी ब्लेयरले भनेका थिए। त्यति बेला उनी लेबर पार्टीको नेतृत्वमा थिए। यो भाषणको ६ महिनापछि उनको पार्टीले भारी मतसाथ निर्वाचन जित्यो र उनी बेलायतका प्रधानमन्त्री बने।
अर्को निर्वाचनको अभियानमा पनि उनले भनेका थिए — मेरो सरकारको मुख्य तीन प्राथमिकता शिक्षा थियो, छ र फेरि जित्यौं भने फेरि पनि शिक्षा नै हुनेछ। आम निर्वाचनमा भारी बहुमत ल्याएर टोनी ब्लेयर लगातार तीन पटक प्रधानमन्त्री भए।
हुन त उनी कसैलाई उद्धरण गरेर राजनीतिकर्मीको बोली र कर्मको तीतो तालमेलबारे स्वीकार गर्दै भन्छन्, ‘निर्वाचनको अभियानमा बोलिने कुरा कविता जस्तै मिठासपूर्ण हुन्छ, शासन गर्नु चाहिँ गद्य जस्तै निरस हुन्छ।’ यद्यपि उनको शासनकालमा बेलायतमा भएको शिक्षाको सुधार र सुदृढीकरणलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ।
बेलायतको एक्सेटर सहरको पुस्तक पसलमा किताबहरू खोजिरहँदा तिनै टोनी ब्लेयरको सन् २०२४ मा प्रकाशित किताबमा आँखामा पर्यो — अन लिडरसिप- लेसन्स फर द ट्वान्टी फर्स्ट सेन्चुरी (On Leadership: Lessons for the 21st Century)।
यो किताबमा ब्लेयरले आफू दस वर्ष बेलायतको प्रधानमन्त्री हुँदा र त्यसपछि विभिन्न देशमा सल्लाहकारको भूमिकामा हुँदा अनुभव गरेका, अवलोकन गरेका र सिकेका कुरा संश्लेषण गरेर प्रस्तुत गरेका छन्।