१५ मंसिर, काठमाडौं । लामो समयदेखि महाधिवेशनको तिथि, मितिको विवादमा अल्झिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (सोमबार) फेरि बस्दै छ ।
केन्द्रीय कार्यसमिति बैठकमा २६–२९ पुसमा नियमित महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गर्ने शीर्ष नेताहरूको बीचमा समझदारी बनेको छ । आज दिउँसो २ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको बैठकले महाधिवेशन कार्यतालिका ल्याउने मोटामोटी सहमति बनिसकेको नेताहरूको भनाइ छ ।
तर, सरकारले २१ फागुनका लागि तय गरेको प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा कांग्रेसको महाधिवेशन सम्भावित कार्यतालिकाभित्रै सम्पन्न हुनेमा भने नेताहरूमा शंका छ ।
महामन्त्री गगनकुमार थापानिकट मानिने केन्द्रीय सदस्य प्रकाश रसाइली (स्नेही) कार्यतालिका आए पनि निर्वाचनअघि महाधिवेशन सम्भव नभएको तर्क गर्दै आएका शीर्ष तहका नेताहरूबाट धकेल्ने प्रयास हुनसक्ने अनुमान गर्छन् ।