धनकुटा/ धनकुटामा हरेक शुक्रबार सञ्चालन हुँदै आएको चियासँग कविता कार्यक्रमको वार्षिकोत्सवको अवसरमा शुक्रबार धनकुटामा एक पत्रकार सहित ४ जनालाई पुरस्कृत गरिएको छ।
कार्यक्रमको समाचार सम्प्रेषणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै थापालाई चियासँग कविता साहित्य पत्रकारिता पुरस्कारले सम्मान गरिएको हो। थापालाई दोसल्ला ओढाएर नगद ५ हजार रुपैयाँ र सम्मान पत्रले सम्मान गरिएको हो।
रेडियो धनकुटा एफएमको संयोजनमा हुँदै आएको चियाँग कविता कार्यक्रम पहिलो वार्षिकोत्सवको अवरसमा आयोजित कार्यक्रममा थाहा मिडिया ग्रुप धनकुटा संवाददाता ईश्वर थापा सहित अन्य ३ जना स्रष्टालाई सम्मान तथा पुरस्कृत गरेको हो।
यस्तै १५ हजार राशीको चियासँग कविता धनकुटा साहित्य रत्न पुरस्कारबाट कवि घनश्याम बराल औलालि, ५ हजार राशीको चियासँग कविता युवा साहित्य पुरस्कारबाट कवि तथा मुर्तिकार मञ्जुल मितेरी र ५ हजार राशीको चियासँग कविता नव प्रतिभा पुरस्कारबाट कवि दृष्टि श्रेष्ठलाई सम्मान तथा पुरस्कृत गरिएको हो।
कार्यक्रममा चियासँग कविता संग्रह विमोचन गरिएको थियो। त्यसैगरी, चियासँग कविताको पहिलो श्रृङ्खलादेखि सहभागी सर्जकहरू तथा कार्यक्रम सञ्चालनका लागि आर्थिक, भौतिक र अन्य सहयोग पुर्याउने सहयोगीहरूलाई समेत सम्मान गरिएको थियो।
वार्षिक उत्सवका अवसरमा आयोजना भएको वृहत कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनुभएका नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले कार्यक्रमको उद्धाटन कपमा चिया खन्याएर गर्नुभएको थियो। कार्यक्रममा बोल्दै कुलपति राईले यस्ता कार्यक्रमले समाजलाई जगाउने काम गरेको बताए।
कार्यक्रममा कविहरू रमेशचन्द्र अधिकारी, मुकुन्द प्रयास, केजी सुब्बा, द्वारिका रिजाल र रेखा क्षत्रीले विशेष कविता वाचन साथै गायकहरू भुवन डंगोल, गौरवनारायण राई, हेमु स्मृती, जुली खालिङको गायन र ध्रुव एलेक्सको नृत्य प्रस्तुति रहको थियो।
धनकुटाको पहिलो सामुदायिक रेडियो धनकुटा एफएमको संयोजनमा सञ्चालन हुँदै आएको साहित्यिक कार्यक्रम ‘चियासँग कविता’ हरेक शुक्रबार आयोजना हुँदै आएको संयोजक गोपाल बराइलीले जानकारी दिए।