पदम सुखी सम्बाहाङफे
पान्थर जिल्लाकाे कुम्मायक गाउपालिकाको केन्द्र यासोकमा चासोक तङ्नाम उधौली पर्व कार्यक्रम मंगलबार सम्पन्न भएको छ । यो धान्य पुर्णिामा देश बिदेशमा रहेका विभिन्न जातजातिका समुदायले आजको दिन बिशेष चाडका रुपमा मनाउने गरेको कार्यक्रमका प्रमुख अथिति तथा कुम्मायक १ का वडाध्यक्ष देवेन्द्र कुमार लावतिले बताए । नेवा देवो दवु कुम्मायकका संयोजक गणेश श्रेष्ठ तथा तामाङ धेदुङ संघका अध्यक्ष लैनबहादुर तामाङले पनि आजको दिन बिशेष पर्व भएकोले सबै जाति र बर्ग समुदाय रम्नैपर्ने पौराणिक इतिहास रहेको बताए ।
किरात येले तङ्बे ५०८५ को अवसरमा पृथ्वी माध्यमिक विद्यालयको खेल मैदानमा भएको कार्यक्रममा विभिन्न सास्कृतिक नृत्य हुनुका साथै रोचक खेलहरू पनि खेलाइएको थियो । राइ जातिको साकेला सिलि नृत्य किराँत राइ यायोख्खा कुम्मायकका संयोजक सुर्य किरण साम्पाङको संयोजगत्वमा सिलि नाच प्रस्तुत भएको थियो भने पोरोक्मि या:लाङ साब्रुप्तेनका संयोजक लक्षमण चेम्जोङ र होसन्ना आर्ट सेन्टरका तेजेन्द्र चेम्जोङ्ले धान नाच्दै पालाम गाएका थिए । यसैगरी फाल्गुनन्द गाउँपालिका व:साङ्गुका रणमाया चेम्जोङ, याम शेर्मा , वडा नम्बर १ का देशु लावति , मनमाया लावति, सम्झौता जबेगु, सुशीला लावति, मनु सम्बाहाम्फेले लिम्बु जातिहरूको पालाम गाउदै धान नाचेका थिए । केः लाङ तर्फ गाउँपालिकाका वडा नम्बर १ , ५ , ४ का सुजन मिभोक लगायतले ढोल ( के: ) नाचेका थिए ।
किरात याक्थुङ चुम्लुङ कुम्मायक गाउपालिका गाउकार्य समितिको आयोजनामा भएको सो कार्यक्रम गाउपालिकाको आर्थिक सहयोगमा भएको हो । उक्त कार्यक्रममा भएको खेलहरूमा पुरुष तर्फ पक्लुङ छेलो हान्नेमा सरुन खड्का प्रथम र सुदर्शन लावति दोस्रो भए भने महिला तर्फ लिला थापा प्रथम र शोभा थापा दोस्रो भएका थिए । यसैगरी भाले जुधाइतर्फ घनेन्द्र फेवदेनले जित्न सफल भएका थिए । डोरी तान्नेमा पुरुषतर्फ सुदर्शन लावति र बषन्त नेपालीको टिम प्रथम र दोस्रो भए । त्यसैगरी महिलातर्फ पबित्रा सम्बाहाम्फेको टिम प्रथम भएको थियो । सास्कृतिक गित नृत्य तर्फ श्रीजङ्गा बोर्डिङ स्कुल प्रथम पृथ्वी माध्यमिक बिधालय दोस्रो सनराइज इङलिस बोर्डिङ स्कुल तेस्रो र खाल्डे माध्यमिक बिधालय सान्त्वना पुरस्कारको बिजेता बनेका थिए ।
गाउपालिकाको पाँचवटै वडाका वडाअध्यक्षहरू सम्पुर्ण संघ सस्थाका व्यक्तित्व प्रतिनिधि बुद्धिजीवी सरोकारवाला पत्रकार शिक्षकहरुको भब्य र सभ्य उपस्थिति रहेको थियो ।
प्राचीनकालदेखि नै किरात जातिहरू पैयुँ फुलेको याममा अन्नबाली पाकेर भित्राउन अघि मातृसत्तात्मक अर्थात प्रकृतिपुजक सभ्यतामा रमाउने गरेकोले नै वर्षेनी चासोक तङ्नाम मनाउने प्रथा रहेको किरात याक्थुङ चुम्लुङका केन्द्रीय पुर्व सदस्य गणेश चेम्जोङ्ले बताए । कार्यक्रम सन्चालन लाल अन्जान सम्बाहाम्फेको साथमा किराँत याक्थुङ चुम्लुङ कुम्मायक गाउकार्य समितिका अध्यक्ष तारानाथ सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको थियो ।